२५ औ बुढासुब्बा गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ १९ गते ।
धराने मिडिया : धरानलाई चिनाउने प्रतिष्ठित एउटै मात्र प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण शनिबारदेखि शुरु भएको छ ।
धरान–१६ स्थित धरान रंगशालामा आयोजित प्रतियोगिताको उदघाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विजयी बनेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज विजयी बनेको हो ।
पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औँ मिनेटमा गोल गरेका थिए ।
गोल्डकप उद्घाटन कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए ।
२०५५ सालमा शुरुवात भएको बुढासुब्बा गोल्डकप कोरोनाकालमा बाहेक निरन्तर आयोजना हुदै आएको प्रतिष्ठित फुटबल प्रतियोगिता हो ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।