अपराजित रहँदै टी–२० छनोटको उपाधि नेपाललाई

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ३१ गते ।

धराने मिडिया : नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको छ।

ओमान क्रिकेट एकेडेमीको टर्फ-१ मैदानमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआविरुद्ध १२४ रनको शानदार जितसहित नेपाल च्याम्पियन बनेको हो।

यो जितसँगै नेपालले प्रतियोगिताका ६ मध्ये सबै खेलमा जित निकालेको हो । नेपालले समूह चरणको खेलमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यस्तै, नेपालले यसअघि सुपर–६ का तीन खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको, कतारविरुद्ध पाँच रनको र ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो ।

छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।