हिन्दी चलचित्रका पुराना हास्य कलाकार गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक ०४ गते ।

धराने मिडिया : बलिउडका प्रसिद्ध हास्य कलाकार तथा अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनी विगत पाँच दिनदेखि अस्पतालमा उपचाररत थिए।

लामो समयदेखि स्वास्थ्य समस्यामा रहेका असरानीको जुहुस्थित आरोग्य निधि अस्पतालमा दिउँसो सोमबार ३ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।

१९४१ जनवरी १ मा जयपुरमा जन्मेका असरानीले सन् १९६० को दशकमा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले शोले चलचित्रमा गरेको ‘अंग्रेजहरूको जमानाको जेलर’ को भूमिकामा उनलाई सम्झिने गरिन्छ।

उनले ४०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनले १९६७ मा हरे काँच की चुडिया फिल्ममा अभिनेता विश्वजितको साथीको भूमिका निर्वाह गर्दै बलिउडमा डेब्यू गरेका थिए।

असरानीले राजनीतिमा पनि हात हालेका थिए। सन् २००४ मा उनले भारतीय कांग्रेस पार्टीको सदस्यता लिए र लोकसभा चुनाव अभियानमा सक्रिय भूमिका खेलेका थिए।

८४ वर्षको उमेरमा असरानी संसारबाट बिदा भए पनि उनका अभिनय, संवाद र हास्य समयबोध भारतीय सिनेमाको सुनौलो इतिहासमा सधैं अमर रहनेछन्।