हर्क साम्पाङको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता

समाचारदाता : गोपाल पौडेल

२०८२ कार्तिक १६ गते।

धराने मिडिया : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई) नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

दल दर्ताको प्रमाणपत्र लिएपछि आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै साम्पाङले जात, धर्म, वर्ग, व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थजस्ता खराब तत्वले छियाछिया पारेको समाजलाई आफ्नो पार्टीले जोड्ने बताएका हुन्।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न ‘माटोको ढिस्को’ राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् ।

पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले लौरो चिह्न लिएर उम्मेदवारी दिएका थिए। उनी २० हजार ८२१ मतका साथ मेयर निर्वाचित भएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए।

भदौ २३ र २४ को आन्दोलनपछि बनेको अन्तरिम सरकारमा आफूले जेन–जी युवाहरूको भावनाअनुसार काम गर्छु भन्दा पनि नपत्याइएको गुनासो गर्दै आएका साम्पाङले फेसबुक लाइभमार्फत् प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखेका थिए।