ताइवानलाई लिएर जापान र चीनबीचको तनाव उत्कर्षमा
समाचारदाता : गोपाल पौडेल
२०८२ मङ्सिर ०६ गते ।
धराने मिडिया : जापान र चीन बीचको तनाव उत्कर्षमा पुगेको छ ।
जापानी नयाँ प्रधानमन्त्री सनाए ताकाइचीले चीनले ताइवानमा आक्रमण गरेमा जापानले आफ्नो आत्म-रक्षा बलबाट जवाफ दिन सक्ने सङ्केत गरेसँगै चीन आक्रोशित बनेको थियो ।
चीनले भने ताइवानलाई कब्जा गर्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन । प्रधानमन्त्री टाकाइचीको ताइवानसम्बन्धी टिप्पणीका सन्दर्भमा ओसाकास्थित चिनियाँ कन्सुलर जनरल शुए जियानले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा पोस्ट गरेपछि विवाद झनै चर्किएको थियो ।
त्यस लगत्तै चिनीयाँ विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई जापान भ्रमण नगर्न अनुरोध गरेको छ । मन्त्रालयले उक्त सूचना जारी गरे लगत्तै चिनियाँ नागरिकहरुले पहिले निर्धारित जापान भ्रमण धमाधम रद्ध गरेका छन् ।
चीनले ताइवानलाई आफ्नो भू-भाग मान्दै आएको छ । साथै उसले ताइवानमा अर्काे कुनै देशको भूमिकालाई अस्वीकार गर्दै आइरहेको छ ।



















