भारतमा एकै गाउँका नौ नेपालीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ पुस २९ गते ।

धराने मिडिया : भारतमा एकै गाउँका नौ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक हुन् । दुई परिवार रोजगारीका लागि भारतमा बस्दै आएका थिए ।

एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको छ । सामूहिक शोकको संकेतस्वरूप आज वडा कार्यालय, वडा भित्रका सामुदायिक विद्यालय तथा सरकारी कार्यालयमा शोक बिदा दिइएको थियो ।