भारतको नयाँ बजेटमा नेपाललाई ८ सय करोड भारु अनुदान
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ १८ गते ।
धराने मिडिया : भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (भारु) अनुदान दिने घोषणा गरेको छ। आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संघीय संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालका लागि उक्त रकम विनियोजन गरिएको हो।
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२३-२४ मा ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिएको थियो । आर्थिक वर्ष २०२५-२६ मा पनि ७ अर्ब भारु नै विनियोजन गरे पनि कुल खर्च भने ८ अर्ब ३० करोड भएको भारतको बजेट पुस्तकमा उल्लेख छ ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलङ्कालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बङ्गलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।




















