कप्तान सावित्रा भण्डारीले एक करोड रुपैयाँभन्दा बढी रकम आएपछि सहयोग रोक्न आग्रह, केएमसीले निःशुल्क उपचार गर्ने
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन १२ गते ।
धराने मिडिया : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्ना समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै अब उपचारका लागि आर्थिक सहयोग रोकिदिन आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनि भन्छिन :
आदरणीय समर्थकहरू,
आज 'धन्यवाद' शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।
खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।
यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।
म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।
मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।
चाँडै मैदानमा भेटौंला ।

त्यस्तै काठमाडौँ मेडिकल कलेज (केएमसी)ले कप्तान भण्डारीको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं राष्ट्रिय गहनाको रूपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो सात हप्तादेखि चोटिल रहेको तथा कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेकोप्रति केएमसीको गम्भीर ध्यानाकर्षण भएको भन्दै” ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए नि:शुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।




















