नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन १२ गते ।

धराने मिडिया : नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै विकासका ठूला पूर्वाधार योजनाहरू अघि सारेको हो।

एमालेले 'विकासमा हाम्रो दूरदृष्टि : शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधार' भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ । 

कार्यक्रममा बोल्दै  सुनसरी १ का उम्मेदवार टिकाराम लिम्बुले आफू सार्वजनिक गरिएका प्रतिबद्धताप्रति पूर्ण रूपमा जिम्मेवार रहने बताए । उनले भने, “म इमान्दारपूर्वक आफ्नो कामप्रति दृढ निश्चय र उर्जाका साथ अघि बढेको छु । हामीले सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा गर्न कुनै संकोच नगरी काम गर्नेछु । भोलि नयाँ मुद्दा आए पनि सम्बोधन गर्ने प्रयास गर्नेछु ।”

निर्वाचनबाट नीति बनाउने, कानुन निर्माण गर्ने र विचार निर्माण गर्न योग्य प्रतिनिधि छान्ने हो भने उनी उमेर, विज्ञता र कानुनका विद्यार्थीका हिसाबले छान्नै पर्ने उम्मेदवार भएको उनको दाबी छ ।