धरानमा पानीको समस्या रास्वपाले समाधान गर्छ- बालेन शाह
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन १२ गते ।
धराने मिडिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले धरानमा खानेपानीको समस्या रास्वपाले गर्ने बताएका छन्। मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले धरानमा कोशीबाट पानी ल्याउन पहिल्यै डिपिआर भए पनि अघि बढ्न नसकेको बताउँदै रास्वपाले त्यो समस्या समाधान गर्ने बताएका हुन्।
उनले सभामा सम्बोधन गर्दै रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने पनि बताएका थिए। उनले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
उनले भने, ‘चिया ईलामको खानुभयो, खाना बोर्डर पारीको खानुभयो । तपाईहरुले तेह्रथुम, पाँचथरको तरकारी खान पाउनुभएको छैन । हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारी यही तपाईमा खाना पाइएको छैन । यो दुखदको कुरा हो । यो दुखको समाधान गर्नुपर्छ, त्यसको समाधान गर्ने पार्टी बन्न चाहन्छ, रास्वपा ।
उनले पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताए।
वरिष्ठ नेता शाहले विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र हो भन्ने कुरा पनि नेपालीलाई थाहा नभएको बताउँदै त्यो थाहा दिने पार्टी रास्वपा बन्न चाहेको बताएका थिए।




















