धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता उद्घाटन
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २५ गते
धराने मिडिया : धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार धरान उपमहानगरपालिका–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडान स्थलमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता उद्घाटन गरेका हुन् ।
प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा शुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष, महिला तथा राष्ट्रिय पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताले साहसिक खेल मार्फत पर्यटन प्रवर्धनमा योगदान गर्ने प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले जनाएको छ । खेलको इतिहास चार दशकभन्दा पुरानो भएपनि व्यवस्थित लिग प्रणाली भने पहिलो पटक सुरु गरिएको हो ।
प्रतियोगिताका विजेतालाई नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयेजकले जनाएको छ । खुल्ला विधामा विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपियाँ प्राप्त गर्नेछन् । खुल्ला पुरुष टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन । यसैगरी महिला विधामा विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार पाप्त गरिनेछ ।
राष्ट्रियतर्फ पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् भने महिला विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपियाँ प्राप्त गर्नेछन ।




















