प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २९ गते

धराने मिडिया : धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सम्पन्न भएको छ ।

लिगको ओपन एक्युरेसी सिरिजको उपाधि प्याराग्लाइडर अमन थापाले हात पारेका छन् । थापाले आयोजित प्रतियोगिताको ओभरअलतर्फ र एक्युरेसी नेसनल पुरूषतर्फको उपाधिसमेत जितेका छन् । उपाधि विजेता थापाले ओभरअलतर्फको उपाधि जित्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे भने एक्युरेसी नेसनल पुरूषतर्फ ३० हजार रुपैयाँ प्राप्त गरे । 

त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् ।

WhatsApp Image 2026-05-12 at 10.33.00 PM (1)

खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई क्रमश रु.४० हजार,२५ हजार र १५ हजार पुरस्कारसहित मेडल प्रदान गरिएको छ  ।

टिम विजेतातर्फको उपाधि अरुण जालहारी, अन्जन कुवर, पवन परियार र रिकी पोडेको समूहले हात पार्यो । यो समूहले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।  दोस्रो बनेका युवराज सुनुवार, सुमनजंग थापा, विष्णु तिम्सिना र रोशन बस्नेतको समूहले ३० हजार रुपैयाँ हात पारेको छ  । त्यसैगरी तेस्रो बन्न सफल कृष्णबहादुर क्षेत्री, अमन थापा, विष्णु कार्कीको समूहले २० हजार रुपैयाँ प्राप्त गरेका छन । 

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा शुरु भएको प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म सम्म सञ्चालन भएको थियो।