भन्सार छलीका अवैध सामग्री वरामद

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, असोज ०८ गते ।

धराने मिडिया : झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको रेडिमेड कपडा लगायत बिभिन्न प्रकारको सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत चाडपर्व बिशेष सुरक्षा योजना अनुसार असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यलय धुलाबारीबाट परिचालन भएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-१० स्थितमा सवारी साधनहरु चेक जाँचको क्रममा करिव ५८ हजार ५०० मुल्य बरावरको बिभिन्न प्रकारका रेडिमेड कपडा र मेचीनगर नगरपालिका-६ स्थितमा नेपालबाट भारत तर्फ अवैधरुपमा लैजादै गरेको करिव २ लाख बरावरको लसुन नियन्त्रणमा लिएको छ ।

यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले दुहबी नगरपालिका-३ र १० स्थितबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको २ लाख ३ हजार ६ सय ५० रुपैया मुल्य बरावरको रेडिमेड कपडा बरामद गरेको छ भने मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीले रेडीमेड कपडा र लसुन समेत गरी १ लाख ६ हजार मुल्य बरावरको सामग्री बरामद गरेको छ ।

बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर