घर–घरमा लक्ष्मीको पूजा गरिँदै

समाचारदाता : गोपाल पौडेल

२०८१ कार्तिक १५ गते।

धराने मिडिया : तिहारको तेस्रो दिन आज घर घरमा लक्ष्मी पूजा गरिँदै छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।

आज बिहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ ।

नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ।

वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।

तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ । यसरी भैलोमाग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रसेलरोटी दान स्वरुप दिने चलन छ।

त्यति पाएपछि भैलेनी समुहले आशिष दिई लक्ष्मीधन्यको कामना गर्दछन् । इतिहासविद्हरुका अनुसार ‘भलो होस्’ भन्दै घरघरमा गएर सन्देश दिनेचलनले पछि गएर भैलोको रुपमा निरन्तरता पाएको हो ।