आफ्नो भाषा, सँस्कृतिलाई जीवन्तता दिँदै दस्तावेज तयार पार्न कुलुङ जातिहरुले पुस्तक विमोचन

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन १८ गते ।

धराने मिडिया : नेपालमा रहेका सबै जातजातिहरुले आफ्नो भाषा, सँस्कृति र पहिचानलाई स्थापित गर्नका लागि जुट्ने गरेका छन् ।

यसै क्रममा आदिवासी जनजातिभित्र पर्ने लोपोन्मुख जातिको रुपमा रहेको कुलुङहरुले  आफ्नो जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सबैमा जानकारी होस् भन्ने अभिप्रायले यस सम्बन्धी सम्पूर्ण कुरा समेटिएको ‘कुलु रिदुम्’ पुस्तक शनिबार धरानमा विमोचन गरिएको छ ।

धरान–५ स्थित देवीगाउँमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रीय कार्यालय प्रांगणमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले  पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा कुलुङ जातिको इतिहास, पुर्खा, मातृभाषा, भेशभूषा, परम्परागत ज्ञान, गीत–संगीत, कुलुङ जातिका प्रयोग गरिने परम्परागत धामी झाँक्रीको महत्व, आफ्नो जातिसँग देवी–देवतासँगको सम्बन्ध, मृत्य र विवाह जस्ता संस्कारका विषय ‘नसी’, ‘हिल्सी’, ‘मोमोसी’, ‘चीचीमा सी’ जस्ता विधिलगायतको सम्पूर्ण विषय समेटिएको संघका महासचिव दिपेन्द्र कुलुङले जानकारी दिनुभयो ।

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता प्रेमचन्द्र कुलुङ ‘सम्फोरु’ले कुलुङ धर्म, संस्कृति र परम्परालाई यथार्थपरक ढंगबाट प्रस्तुत गर्नुभएको छ । यो पुस्तकले कुलुङ जातिका युवा पुस्तमात्र हैन, अन्य जातिले समेत कुलुङ जातिको इतिहासबारे जानकारी पाउन सहज गराएको छ ।  पुस्तका निजामती सेवा अन्तर्गत कार्यरत सम्फोरुले विसं २०७९ देखि २०८० सम्म सिलिचोङ, सेलेवा, नागिरे, वैदाङ, मोप, भैरुङ लगायतका स्थानमा रहेका कुलुङ समुदायका धामी–झाँक्री (खूलू) हरूसँग अन्तर्वार्ता, तथ्य संकलन र अध्ययनमार्फत पुस्तक तयार पार्नुभएको हो ।

पुस्कतलाई तथ्यपरक र सान्दर्भिक बनाउन संखुवासभको ताम्कुस्थित लकुवा गाउँमा गत वैसाख २९ देखि जेठ ४ गतेसम्म कुलुङ जातिका विज्ञ, सँस्कृतिविद् लगायतका प्रवुद्ध व्यक्तिहरुसँग छलफल समेत गरिएको थियो ।  

पुस्तक विमोचन कार्यक्रममा नेपाल लगायत नेपाल बाहिर  बसोबास गर्ने कुलुङ समुदायका प्रतिनिधि, कलाकार, पत्रकार, बुद्धिजीवी तथा अगुवाहरूको उपस्थिति रहेको थियो ।