जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले नेपालीलाई बन्द गर्यो भिजिट र वर्किङ भिसा
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०२ गते ।
धराने मिडिया : संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ ।

एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिट र वर्किङ दुवै भिसा बन्द गरेको हो ।
नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ।

पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ ।