६८ वर्षीय उमेरमा वरिष्ठ कलाकार सुनिल थापाको निधन
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ २४ गते ।
धराने मिडिया : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनको निधनले नेपाली फिल्मको अभिनय यात्रामा एउटा शोक र रिक्तता सिर्जना गरेको छ ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
१९ मे १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विविध पक्षमा योगदान दिए । उनको करिअर चाहिँ मोडलिङबाट सुरु भएको हो ।
नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए। उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।




















