बैशाख १२ गते ११ वर्ष अगाडिको विनाशकारी भूकम्पको सम्झना
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख १२ गते।
धराने मिडिया : वि.सं. २०७२ साल वैशाख १२ गते शनिबार बिहान ११:५६ बजे गएको विनाशकारी भूकम्पको आज पनि सम्झना गरिँदैछ। ७.८ म्याग्निच्युडको उक्त भूकम्पले देशभर ठूलो जनधनको क्षति पुर्याएको थियो। हजारौँले ज्यान गुमाए भने लाखौँ नागरिक विस्थापित भएका थिए।
विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प थियो। भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो।
यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो। यस भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।
यस भूकम्पले सगरमाथामा हिमपहिरो जान सुरु भएको थियो जसको कारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको भने, यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो।
भूकम्प गएको २० मिनटको अन्तरालमा पूरै देशभरी लगातार भूकम्पको पराकम्पहरू गैरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो जसकारण देशका पहिरोको जाने खतरा बनेको थियो। यस्तै २९ वैशाख २०७२ का दिन दिउँसोको १२ बजेर ५० मिनेट जाँदा देशले पुनः ७.३ रेक्टर स्केलको भूकम्पको समाना गर्नु परेको थियो जसको केन्द्र काठमाडौँ र सगरमाथाको बीचमा चीनको सिमाना नजिक थियो।
महाभूकम्प गए पश्चात् सोही वर्ष युनेस्को र संस्कृति मन्त्रालयले वर्षा ऋतु सुरु हुनुभन्दा अगाडि भूकम्पका कारण आंशिक रूपमा क्षतिग्रस्त भएका र लड्न लागेका पुरातात्त्विक संरचनाहरूको पुनर्निर्माण गर्न सुरु गरेको थियो।
महाभूकम्प गएको ६ महिना पश्चात् कात्तिक महिनाबाट काठमाडौँको सुन्धारा स्थित ऐतिहासिक धरहराको पुनर्निर्माण कार्य सुरु गरिएको थियो भने धरहराको पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले प्राप्त गरेको थियो।
प्रधानमन्त्री एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले २०७५ पुस १२ का दिन ऐतिहासिक धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए।
भूकम्प पश्चात् कुल ३ अर्ब अमेरिकी डलर नेपालको पुनर्निर्माणलाई सहयोग पुर्याउने उद्देशका साथ प्रदान गर्ने प्रतिज्ञा गरिएको थियो।
युनिसेफले १७ लाख बालबालिकाहरूलाई अस्थायी आवास, मनोवैज्ञानिक सल्लाह, रोग प्रकोपबाट बच्ने उपाय खानेपानी र सुरक्षाको खाँचो रहेको बताएको थियो भने, कोषले उनीहरूका लागि पाल, पोशाक, पानी शुद्धीकरण गर्ने औषधी र बाल्टीहरू वितरण गरेको थियो। यसका साथै विभिन्न अन्य सङ्गठनहरू समान समर्थन प्रदान गरेका थिए।
२०७२ को महाभूकम्प केवल विनाशको कथा होइन, यो पुनर्जागरणको पनि कथा हो। यसले हामीलाई सिकायो प्राकृतिक विपत्तिसँग जुध्न तयारी, सचेतना र एकता कति आवश्यक छ।
आज पनि हामी ती सबै दिवंगत आत्माहरूको सम्झना गर्दै, उनीहरूको आत्माको शान्तिको कामना गर्छौं। साथै, भविष्यमा यस्ता विपत्तिबाट जोगिन अझ जिम्मेवार र सजग बन्ने प्रतिबद्धता दोहोर्याउँछौं।




















