हामी सञ्चार माध्यमलाई अंकुश लगाउने र संकुचन गर्ने कुनै पनि काम गर्दैनौं - मुख्यमन्त्री कार्की
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८३ वैशाख २४ गते
धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सञ्चारमाध्यमलाई अंकुश लगाउने कुनै पनि काम नगरिने बताउनुभएको छ। आज विराटनगरमा पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी र सरकारी भनेर कुनै पनि संचार माध्यमलाई विभेद नगर्ने बताउनुभयो।
मुख्यमन्त्री कार्कीले प्रदेश र संघीय सरकार कुनैले पनि निजी र सरकारी भनेर विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने बताउनुभयो। मुख्यमन्त्री कार्कीले निजी सञ्चार माध्यमलाई विज्ञापन नीतिमा संघीय सरकारले लिएको नीति सच्चिने आशा व्यक्त गर्दै यदि त्यस्तो नभए प्रदेश सरकारले नीति र आवश्यक कानुन बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, हामी सञ्चार माध्यमलाई अंकुश लगाउने र संकुचन गर्ने कुनै पनि काम गर्दैनौं।, निजी क्षेत्रलाई बन्देज लगाउने कुरा नेपालको संविधान विपरीत हुने चर्चा गर्दै उहाँले प्रदेश सरकार चाँडै नै प्रादेशिक प्रतिष्ठान गठन गरेर पत्रकारको हितमा काम गर्ने तर्फ अग्रसर भएको बताउनुभयो।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरेक वर्ष अग्रज पत्रकारहरुलाई दिँदै आएको सम्मान मा कुनै कमी नआउने र पत्रकारितालाई अगाडि बढाउन लागि प्रदेश सरकारले आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने मुख्यमन्त्री कार्कीले बताउनुभयो। २०७५ साल हरेक वर्ष कोशी प्रदेश सरकार पुरस्कार वितरण गर्दै आएको छ। यस वर्ष प्रदेशका अग्रज पत्रकार सिद्धराज राई, विवेक गौतम, शेखर रेग्मी ,रेजिना गौतम, सन्तोष रुचाल, मनोज श्रेष्ठ ,श्यामसुन्दर सुतियार र गोपाल दाहाल सम्मानित भएका छन्।
सरकारले सबै पत्रकारलाई जनाई १ लाखका दरले सम्मान गरेको हो। सो कार्यक्रममा आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली पत्रकार महासंघ प्रदेशका अध्यक्ष भरतबहादुर खड्का मोरङकी अध्यक्ष सुशीला पाठक पुरस्कृत रेजिना गौतम र मन्त्रालयका सचिव आसमान तामाङले बोल्नुभएको थियो।




















