बालेन शाहको राजीनामा माग माथी ज्ञानेन्द्र शाहीको हर्क साम्पाङलाई जवाफ
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १ गते।
धराने मिडिया : राप्रपा संसदीय दलका प्रमुख ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई(साम्पाङ) लाई लक्षित गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले लेखेका छन्, “माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।
हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो।”

सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका थिए । सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको आरोप लगाउँदै पद त्यागको माग गरेका थिए ।
यस विषयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले शाहीको अभिव्यक्तिलाई समर्थन गरेका छन् भने केहीले जनप्रतिनिधिहरूले सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउनुपर्ने बताएका छन्।





















