धरान : सरकारले जन्म दर्ता गर्दा नै राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ।


उक्त निर्णय अनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ता गराउने क्रममा जन्म दर्ताको प्रमाणपत्रमा नै राष्ट्रिय परिचय नम्बर उल्लेख गरिनेछ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेल भन्छन् :

“कुनै पनि बच्चाको जन्म दर्ता गर्दा नै अबदेखि हामीले परिचयपत्र कार्डका लागि विवरण सङ्कलन गरिरहेका छौँ। यो मुलुकका सबै नागरिकहरूले राष्ट्रिय परिचय नम्बर पाए भने त्यसबाट उनीहरूलाई सेवा प्रवाह गर्न र पहिचान गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो।”

उनले जन्म दर्ताकै आधारमा परिचयपत्र दिँदा त्यसले नागरिकता वितरणलाई पनि सहज हुने उल्लेख गरे ।

घटना दर्ता गर्दाकै बखतमा राष्ट्रिय परिचयपत्र नम्बर दियौँ भने अब नागरिकता पनि थप व्यवस्थित हुने उनले बताए ।

जन्मदर्ताका बेला प्राप्त हुने नम्बर र विवरणका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूले बायोमेट्रिक, आँखाको रेटिना र फोटो बुझाएर परिचयपत्र लिनसक्ने छ ।