धरान : करोडौंको लागतमा निर्माण भएको कोकाह खानेपानीको पाइपमा डढेलो लागेर क्षति पुगेको छ । सोमबार दिउँसो र राती बराहक्षेत्रको पहाडी क्षेत्रको जंगलमा लागेको डढेलोले पाइपमा क्षति पुगेको हो ।


डढेलो लागेर पाइपमा क्षति पुगेको जानकारी पाएपछि बिहानै खानेपानी बोर्डको कार्यकारी निर्देशक राजु पोख्रेलसहित टोली मर्मतमा गएका थिए ।


अर्को स्थानमा डढेलो लागेको खबर आएपछि मेयर हर्क राज राई बाघ खोला क्षेत्रमा पुगेका थिए । 


राती पुनः बराहक्षेत्र १ को जंगलमा डढेलो लागेको जानकारी पाएपछि नगर प्रहरीसहितको टोली आगो निभाउन पुगेको थियो । 


मेयर राईका अनुसार क्षति पुगेको पाइप मर्मत गर्न खानेपानी बोर्डका कर्मचारी र श्रमदाताको टोली बाघ खोला क्षेत्र जानेछ ।


खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार डढेलोले पाइपमा क्षति पुगेपछि कोकाहको पानी आपूर्ति रोकिएको छ । 


कोकाहको पानी वडा नं १७ र ११ का जनताले पिउदै आएका थिए । उनका अनुसार चौबिस घण्टामा ७ लाख लिटर पानी आपूर्ति हुने गरेको थियो ।