त्रिशुलीमा ट्याक्सी खसेर दुर्घटना, पाँच जनाको मृत्यु

धरान :  काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ । 

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।