चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि


धरान : चर्च ब्वाइज युनाइटेड काठमाडौंले इटहरी गोल्डकपको उपाधि चुम्नु सफल भएको छ । यो इटहरी गोल्डकपको १४ औं संस्करण हो ।

शनिवार राती सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

चर्च ब्वाइजका लागि खेलको ४ मिनेटमै राजेश परियारले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि चर्च ब्वाइजले १४ औं संस्करणको इटहरी गोल्डकपको उपाधि हात पारेको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्चका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भत्तराज घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतले पुरस्कार वितरण गरेका थिए ।

चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ ।