६७ औँ राष्ट्रिय सहकारी दिवस, सुनसरी जिल्ला सहकारी संघद्वारा धरानमा भव्य कार्यक्रम

धरान : सुनसरी जिल्ला सहकारी संघद्वारा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धरानको चुम्लुङ हिम भवनमा भव्य कार्यक्रम आयोजना गरेको छ ।

यस वर्षको लागि ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ नारा तय गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा रहेका धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले स्थानीय सहकारी संस्थाहरूलाई बचतकर्ताप्रति जिम्मेवार बनाउँदै व्यवस्थित रूपमा सञ्चालन गर्न गराउन स्थानीय सहकारी सञ्चालन ऐन नियम र विनियम बनाउने प्रस्ताव मेयर हर्क साम्पाङको टेबुलमा पुर्‍याएको बताएका छन् ।

सभामा धरान-१५ का वडाध्यक्ष नरेश ईवरामलाई लामो समय देखी सहकारीका लागि योगदान पुर्‍याएकोमा सम्मान गरियो । सहकारीको ऐन, नियम अनुसार चल्दै आएको इटहरी स्थित जुनतारा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट सहकारीको सम्मान प्रदान गरियो ।

देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम गर्दै आएको छ ।