नेवार एकता समाज धरानद्वारा करुवाबाट पानी वितरण

धरान : १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आउनु हुने तीर्थयात्री तथा भक्तजनहरुलाई नेवार एकता समाज धरानद्वारा करुवाबाट पानी वितरण गरिएको छ।

करुवाबाट पानी पिउनु टन्सिल रोग लाग्नबाट सुरक्षित हुनु हो भन्ने परम्परागत मान्यता पनि रहेछ । यसका साथै शोकेस र दराजमा थन्काइएका करुवालाई पानी पिउन र त्यसैबाट तिर्खाएकाहरुको प्यास मेटाउन प्रयोग गरेर नेपाली कला, संस्कृति र सभ्यताको जगेर्नाका लागि सन्देश दिने अत्यन्तै महत्त्वपूर्ण प्रयास पनि भएको छ।

नेवार एकता समाज धरानका अध्यक्ष महेश श्रेष्ठ भन्छन् "तिर्खा मेटाउने प्रयास मात्रै गरिरहेका छैनौं, पानी पिउनका लागि प्लाष्टिकका कप, बोतल कम प्रयोग गर्न र वातावरण प्रदूषित हुनबाट जोगाउन सन्देश पनि दिइरहेका छौं" ।

निःशुल्क पानी वितरण सेवाले हरेका दिन नयाँ नयाँ मानिसहरुसंग भेट गराएर सामिप्यता बढाइरहेको पनि उनले बताए ।