आज मे १ तारीख, अन्तर्राष्ट्रिय श्रमिक दिवस

धरान : आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ।

विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।

त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।