धरानका अटो चालक सहित लागुऔषधमा ६ जना पक्राउ

समाचारदाता (गोपाल पौडेल)


धराने मिडिया : सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध बेचबिखान भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-१० का ३० बर्षीय हुसेन बहादुर कटुवाललाई २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, Tramadol ४५ ट्याब्लेट, Spas pain ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँया सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा.९५ प ९५१२ नम्बरको मोटरसाईकलमा सवार रहेका त्रियुगा नगरपालिका-११ का २८ बर्षीय अमर बहादुर कार्की र त्रियुगा नगरपालिका- १२ का २१ बर्षीय चन्द्र बहादुर कार्कीलाई डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन समेत गरी ४११ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थाई प्रहरी चौकी सिनुवारीको प्रहरी टोलीले देवानगंज गाउँपालिका-६ स्थितमा को.१ ह २०५२ नम्बरको अटो टेम्पोलाई चेकजाँचको क्रममा २८ किलो ३ ग्राम गाँजा बरामद भए संगै अटो चालक धरान- १६ का २० बर्षीय अर्जुन राई र अटोमा सवार २० बर्षीय प्रविन राई, १७ बर्षीया अन्जना तामाङलाई समेतलाई नियन्त्रणमा लिएको छ । 

लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।