"हाम्रो धरान" पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहास सच्याउन माग

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : धरान उपमहानगरपालिकाले प्रकाशित गरेको कक्षा ६ को हाम्रो धरान नामको पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहासबारे गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चले सच्याउन माग गरेको छ ।

स्थानिय सरकारद्वारा स्थानिय विषय पढाइका लागि पाठ्य पुस्तक प्रकाशित गर्नु सराहनीय कार्य भएतापनि पुस्तकको पृष्ठ १२८ र पृष्ठ ७६ मा राखिएको पाठ्यांशमा गलत इतिहास उल्लेख भएकोमा विद्यार्थी मञ्चले आपत्ति जनाएको हो ।

मञ्चको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले सोमबार मेयर हर्क राज राईलाई ज्ञापन पत्र बुझाउदै पुस्तक संशोधन गर्न माग गरेको हो । उक्त गलत इतिहास एवं तथ्य संशोधन नभएसम्म पाठ्यपुस्तक तत्कालको लागि अध्यापनमा रोक लगाउन पनि मञ्चले माग गरेको छ ।