इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ गरिने

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया :  कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरु चिनाउनका लागि शुक्रबारदेखि इटहरीमा तीन दिने इस्टर्न ट्राभल मार्ट २०२४ गरिने भएको छ ।

इटहरीको पाँच तारे होटल सोल्टी वेस्टेण्डमा उद्घाटन गरिने कार्यक्रमको समापन झापाको मेची क्राउनमा गरिने बताइएको छ । यहाँ कोशी प्रदेशमा हालसम्म संचालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु र धार्मिक स्थलहरु, हस्पीटालिटि मेनेजमेन्ट कलेजहरु गरी ३० वटाभन्दा बढी स्टल रहने समितिका सचिव बासुदेव बरालले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको ३० लाख रुपैया सहयोगमा गर्न लागिएको कार्यक्रमलाई इटहरी उपमहानगरपालिकाले ६ लाख रुपैया सहयोग गर्ने बताइएको छ ।

कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायको विकासका लागि कार्यक्रम गर्न लागिएको संयोजक भविस श्रेष्ठले जानकारी दिए ।  उनले यो पटकको कार्यक्रममा कोशी प्रदेशमा पनि तारे होटल छ भन्ने कुरालाई हाइलाइट गर्न लागिएको बताए ।  

नेपाल तथा भारतका व्यवशायीहरुलाई जोड्ने गरि गरिएको कार्यक्रममा भारत, भुटान तथा बंगलादेश र नेपालका विभिन्न ठाउँहरुबाट ८० भन्दा बढी पर्यटनकर्मी, व्यवशायी तथा पत्रकारको सहभागिता रहने बताइएको छ ।