धरानको तीनकुनेबाट नियन्त्रित औषधी बरामद

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने स्थितमा अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले को.२.ह ५९७८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोमा स्पास्मोल, स्पाजमोल र ट्रमानिल सहित २ हजार ४२० ट्याब्लेट नियन्त्रित औषधी बरामद गरेको हो ।

नियन्त्रित औषधी बरामद भएसगै चालक बिराटनगर-१० का ४५ बर्षीय शंकर खड्का, अटोमा सवार धरान- ८ का २२ बर्षीय संजित तामाङ, धरान- ३ का २८ बर्षीय प्रनित ताम्राकार र धरान- ५ का १८ बर्षीय सुमन तामाङ समेतलाई पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका- १ लौकही बजारबाट भारत विहारका ४२ बर्षीय सन्तोष यादव र कोशी गाउँपालिका-२ का ५५ बर्षीय राम सागर यादवलाई ४५ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।