धरानका २२ वर्षीय युवा सहित ब्राउन सुगरमा ४ जना पक्राउ

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङको सुनवर्षी नगरपालिका-९ स्थित लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत विहारका १९ बर्षीय राहुल राजालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५६ ग्राम १३ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेसगै संलग्न स्थानीय २४ बर्षीय आदर्श दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट इलाम चुलाचुली गाँउपालिका-३ का ३० बर्षीय बिनोद ढुंगेललाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-११ कि  २२ बर्षीया आयुषा राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।