धरानका ४ युवा सहित लागुऔषध ब्राउनसुगरमा  जम्मा ८ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अपरान्ह झापाको मेचिनगर नगरपालिका-६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-८ का २३ बर्षीय रमेश दर्जीलाई १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी बिर्ताबजार झापाबाट खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षिय सुवास ताजपुरीया र २१ बर्षीय अम्मर कुमार राजवंशीलाई ७२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१७ का २२ बर्षीय प्रेम परीयार, २२ बर्षीय सनम परियार, २४ बर्षीय अमृत लामा र धरान-४ का १८ बर्षीय अनिल राईलाई नियन्त्रित औषधी ट्याब्लेट १ हजार २ सय २१, क्याप्सुल ९४ र नगद १ लाख ९५ हजार ५०५ रुयैँया सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितबाट सिराहा लहानका २७ बर्षीय राज कुमार यादवलाई डाइजेपाम, फेनारगन र आइपियल समेत गरी ४५ एम्पुल नियन्त्रीत औषधी सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर