आज विश्व जनसंख्या दिवस [ World Population Day ]

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आज अर्थात जुलाई ११ विश्व जनसंख्या दिवस । हरेक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाइन्छ ।

जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने काम गरिन्छ।

सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।

विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।


२ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो । तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो ।

विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या एसिया महादेशमा छ । जसमा पनि धेरै जनसंख्या भएका देश नेपालसँग जोडिएका छन् ।

चीनमा जनसंख्या वृद्धि घट्दो दरमा छ भने भारतमा बढ्दो । त्यसैले अबको केहि वर्षमा भारत विश्वको सबैभन्दा धेरै जनसंख्या हुने देश बन्ने अनुमान छ ।

भ्याटिकन सिटी विश्वमा सबैभन्दा कम जनसंख्या भएको देश हो ।


राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । 

जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। 

जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

नेपालमा १९६८ सालदेखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ ।