महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो । 

यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । 

यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् । 

महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार हुनु भएको छ ।


महानगरको प्रमुख बालेन्द्र शाह भन्छन :

आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेका छौँ । 

सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।

तपाईहरूको व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ । 

एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा तपाइहरुकै syllabus मा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ।