पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । 

हिजो बिहान ५ बजे  मोतीमाया राईको  घरमा पहिरो संगै ढुंगा झर्दा टाटी बेरा भएको घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छिन् । 

घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   

घरका अन्य सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।

घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि गई उद्धार कार्य भएको हो। 

घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर