जनै पूर्णिमा, रक्षाबन्धन र राखी

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०३ गते ।

धराने मिडिया : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

तराईमा विशेषगरी आज दिदीबहिनीले सफलता, स्वास्थ्य र सुरक्षाको कामना गर्दै आफ्ना दाजुभाइको हातमा रक्षा बन्धन धागो बाँधिदिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो १ बजेर ३१ मिनेटसम्म भद्रा परेकाले त्यसपछि मात्र रक्षाबन्धन कर्म गर्नु उचित भएको जनाएको छ ।