धरानबाट सहित लागुऔषधमा  १० जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०३ गते ।

धराने मिडिया : संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका-२ का ४४ बर्षीय रोशन ओझाले हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा लागुऔषध ब्राउनसुगर २१ ग्राम २४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको बिराटनगर-१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित सुनसरी ईटहरी- १० का ३९ बर्षीय राजन बुढाथोकीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ बाट २५ बर्षीय बिशाल राईलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थित अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल १९२ क्याप्सुल बेचबिखान गरिरहेको अवस्थामा फेला पारी अर्जुन थापा, २२ बर्षीय सनम राई, १८ बर्षीय विबेक थापा र युवराज लिम्बुलाई पक्राउ गरेको हो भने प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपालीलाई बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर