ठगी गरेको आरोपमा हाँस्य कलाकार "इकु" पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २६ गते ।

धराने मिडिया : ठगीको आरोपमा हाँस्य कलाकार "इकु" अथवा सुलेमान शंकर पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउने गरेकाे आरोपमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

शंकरले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र त्यहाँ गएपछि आकर्षक कमाइ हुने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको आरोप छ ।

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर उनले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ।

जिल्ला अदालत काठमाडौँले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । इकुविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिए । ४ जना पीडितहरूमध्ये उनले एक जनासँग ९ लाख रकम लिएको भेटिएको छ । ‘प्रक्रिया खर्च’ को नाममा उनले ४ लाख, २ लाख र १ लाख रकम लिएर सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ ।