आमा र छोराको हत्यामा संलग्न रहेका १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

उदयपुर, असोज ०७ गते ।

धराने मिडिया : उदयपुरको कटारी नगरपालिका-१० स्थितमा आमा र छोराको हत्यामा संलग्न रहेका कटारी नगरपालिका-१० का ३३ बर्षीय तारा बहादुर मगरलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । 

कटारी नगरपालिका-१० सोरूङछबिसे  स्थित घर नजिकै  कोठा भाडा लिई किराना पसल गर्दै आएकि ३७ बर्षीय निर्मला थापा र उनको ६ बर्षीय छोरा आरुष थापा भदौ २० गते सुत्ने कोठामा मृत अबस्थामा फेला परेका थिए ।

दुबै जनालाई धारिलो हतियार खुकुरीको प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए संगै जिल्ला प्रहरी कार्यालय उदयपुर र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोज तलासको क्रममा हत्यामा संलग्न रहेकालाई असोज २ गते उनकै घरबाट पक्राउ गर्न सफल भएको हो । 

घटनामा संलग्न रहेका अभियुक्त तारा बहादुर मगरले दुवै जनालाई शरिरको  बिभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको र मृतकले प्रयोग गर्ने मोवायल फोन सोरुङछबिसे खोलामा फालि फरार भएका थिए । 

प्रहरीले खोजतलासको क्रममा घटनामा प्रयोग भएको खुकुरी उनकै घरबाट बरामद गरेको थियो भने मृतकको मोवायल फोन सोरुङछबिसे खोलामा फुटेको अवस्थामा फेला पारेको थियो । 

हत्या आरोपमा पक्राउ परेका मगरको सम्मानित उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर