कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज ११ गते ।

धराने मिडिया : विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ ।

आज विराटनगरमा आयोजित एक कार्यक्रममाबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गर्नुभयो । १६ लाख पर्यटक भित्र्याउने योजनासहित 'रमणीय कोशी' भन्ने नाराका साथ उहाँले भ्रमण वर्ष घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र प्रभावित भएको चर्चा गर्दै भन्नुभयो - 'हामिले अब यी प्रतिकुलताहरु लाई छिचोल्दै अघि बढ्नु पर्नेछ, यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरु गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरीरहेको छ, यसको प्रस्थान बिन्दुका रुपमा “ कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई लिन सकिन्छ ।'

9249b057-67da-4676-84af-114538eb45d7

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रर्वद्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामू चिनाउन सके कोशी प्रदेश छिट्टै नै संवृद्धिको यात्रामा अघि बढ्ने उहाँले बताउनुभयो ।

'कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्छ ।' भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'प्याराग्लाइडिङ  तथा तमोर तथा कोशी ¥याफ्टिङ जस्ता सहासिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधारलाई बलियो बनाएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले  किराँत सभ्यताको उद्गम, जैविक विविधता, प्राकृतिक सौन्दर्यताले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको बताउनुभयो । उहाँले लोपोन्मुख रेड पाण्डालगायतका वन्यजन्तुुका कारण पनि कोशी प्रदेश विषेश बनेको उहाँले चर्चा गर्नुभयो ।

d2de3e2b-6ec6-4af1-9b20-8447bc6960f5

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश भ्रमण वर्ष २०८२ सफलताको कामना व्यक्त गर्नुभयो । कोशी प्रदेश पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको भन्दै उहाँले यसको भरपूर सदुपयोग गर्नुपर्ने बताउनुभयो । प्रत्येक जिल्ला जिल्लामा धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै तर पर्यटकहरुको आवागमन भने कम रहेको उहाँले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सुझाव समेत दिनुभयो ।

कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनु भयो । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ ।

पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताउनु भयो । ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गने उहाँको भनाइ थियो ।