धरान-८ तीनकुनेमा बसको सिटमुनी झोला भित्र निषेधित औषधी फेला

समाचारदाता : गोपाल पौडेल

सुनसरी, असोज १८ गते ।

धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट निषेधित औषधी सहित २ जना र बर्जु गाउँपालिका-५ स्थितबाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

असोज १६ गते दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुने स्थितमा चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउदै गरेको प्रदेश १-०१-००१ ख ४१९५ नम्बरको बसको सिटमुनी झोला भित्र निषेधित औषधी ट्रमाडोल ४ हजार ७ सय ५० क्यापसुल फेला परेको थियो । 

उक्त निषेधित औषधी बरामद भए संगै ओसार पसारमा संलग्न रहेका धरान-५ का २२ बर्षीय युवराज लिम्वु र १८ बर्षीय रोहित राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै गरी  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-५ स्थितबाट २५ किलोग्राम गाँजा सहित देवानगन्ज गाउँपालिका-१ का १८ बर्षीय ललन मेहतालाई पक्राउ गरेको छ भने दुहबी नगरपालिका-७ स्थितबाट १७ किलोग्राम गाँजा सहित को.२८प ५८३५ नम्वरको मोटरसाईकल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर