आज बडा दशैँ टिकाको दिन, उत्तम साइत ११:३६ बजेपछि
समाचारदाता : गोपाल पौडेल
२०८१ असोज २६ गते।
धराने मिडिया : नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको महत्वपूर्ण दिन आज बिजया दशमी हो । नौदिनसम्म नवदुर्गा भवानीको पुजा गरेपछि आज देवी बिसर्जन गरी देवीको प्रसादको रुपमा टीका र जमरा लगाएर बिजया दशमी भव्यतापूर्वक मनाइदैछ ।
बिसं २०८१ को बडादसैँ यस वर्ष विजयादशमीको उत्तम साइत (आज)असोज २६ गते बिहान ११:३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
हरेक वर्षको शरद ऋतुको आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी देशैभरि मनाइने ऐतिहासिक सामाजिक महत्व बोकेको राष्ट्रिय पर्व हो । आज आफूभन्दा ठूला मान्यजनबाट टीका र प्रसाद ग्रहण गरेपछि आगामी पाँच दिन अर्थात पूर्णिमाको दिनसम्म दशैंको टीका र प्रसाद लगाउने चलन छ ।
महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।