३० पुरुष र २३ महिला स्काउट लिडर सहित विराटनगरमा तालिम सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक ०९ गते ।
धराने मिडिया : नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा विराटनगरमा ७ दिने एड्भान्स तालिम सम्पन्न भएको छ ।
कोशी प्रदेश स्काउट कार्यालयको आयोजना एवं स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा कार्तिक ०३ गतेदेखि सञ्चालित ६३ औं व्याय उड्व्याज र ५१ औं गर्ल्स एड्भान्स तालिम कार्तिक ०९ गते विराटनगर महानगरपालिका स्थानीय प्रमुख स्काउट एवं उप-प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगरकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले स्काउटको भूमिका अत्यन्तै ठुलो रहेको उल्लेख गरेका थिए।
श्री सत्यनारायण माध्यमिक विद्यालय, विराटनगर -७ मा सञ्चालन भएको तालिममा महिलातर्फ राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुब्बा र पुरुषतर्फ राष्ट्रिय कार्यकारी समिति सदस्य नवल प्रसाद उपाध्याय कोर्ष लिडर रहनुभएको थियो ।
तालिममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ३० पुरुष र २३ महिला स्काउट लिडरहरुको सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा भएको समापन समारोहमा विराटनगरका स्थानीय प्रमुख आयुक्त नवीन पहाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, प्रदेश कार्यसमिति सदस्य सन्तोष कुमार बस्नेत, प्रदेश परिषद् सदस्य माया सिवाकोटी, गोपाल पौडेल, स्थानीय प्रमुख आयुक्तहरु, सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाँई, शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुङ्गेल, प्रदेश युवा परिषद् अध्यक्ष किरण बुढाथोकी, स्काउट लिडरहरु, काउन्सिलरहरु, रोभर/ रेन्जरहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।