हर्क साम्पाङको युके अभियानले जुटायो पाँच करोड भन्दा बढी
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक १७ गते।
धराने मिडिया : मेयर साम्पाङको दुई हप्ते युके यात्रा: च्यारिटी कार्यक्रमदेखि ऐतिहासिक स्थलसम्मको अनुभव
धरानका मेयर हर्क साम्पाङले आफ्नो दुई हप्ते युके भ्रमणको अन्त्यमा ऐतिहासिक चाथाम डकयार्ड र लन्डनको संसद भवनको भ्रमण गर्नुभयो।
चाथाम र आयल्सफोर्डका सांसद ट्रिस्टान ओस्बोर्न, जीलिङ्घाम र रेनहामका सांसद नौसभा खान, र स्वकीय सचिवले संसद भवनको विशेष अवलोकन गराउनु भयो। यस अवसरमा भूतपूर्व गोर्खा सैनिकहरू भबिन राई, ताईकाजी गुरुङ र भूमिराज राई सहित, मेयर साम्पाङ र सांसद ट्रिस्टान ओस्बोर्नले संसद परिसरमा रहेको मेमोरियल गार्डेनमा अमर सहिदहरुको सम्मानमा क्रस गाडेर पप्पीफूल अर्पण गर्नुभयो।
चाथाम डकयार्ड र संसद भवनको भ्रमणको व्यवस्थापन नेपाली मूलकी पहिलो महिला मेयर काउन्सिलर निना गुरुङले गर्नुभएको थियो। मेयर साम्पाङलाई चाथाम डकयार्डका डिपुटी CEO पाउल बर्नार्डले पनडुब्बी निर्माण स्थलको विशेष अवलोकन गराउनु भयो। चाथाम डकयार्ड, १६औं शताब्दीमा स्थापित भएको बेलायतको प्रमुख पानीजहाज निर्माण स्थल थियो र अहिले चाथाम हिस्टोरिक डकयार्ड ट्रस्टद्वारा पर्यटकीय स्थलको रूपमा सञ्चालनमा छ।
भ्रमण टोली चाथामको रेल स्टेसनबाट वेस्टमिन्स्टरस्थित संसद भवन पुगेको थियो, जहाँ सांसदहरूले मेयरलाई संसदको कार्य र लोकतान्त्रिक प्रक्रियाबारे जानकारी गराए। भ्रमणको समापनमा सांसद ट्रिस्टान ओसबर्नले मेयर साम्पाङको सम्मानमा दिवा भोज आयोजना गर्नु भएको थियो, त्यसपछि मेयरलाई लन्डनको दृश्यावलोकन गराएर चाथाम ल्याइयो।
साँझ मेयर साम्पाङको सम्मानमा चाथामको गोर्खा फायर रेस्टुरेन्टमा आयोजित रात्रिभोजमा उहाँले नेपालीहरू सहित स्थानीयहरुसँग भेटघाट गर्नुभयो, जहाँ सुम्निमा पारुहाङ प्रतिमा पार्क निर्माणका लागि आर्थिक सहयोग संकलन कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा काउन्सिलर निना गुरुङ, मेडवे काउन्सिल लिडर भिन्स म्यापल, मेयर काउन्सिलर मारियन मास्तोरोभ लगायतका वक्ताहरूले मेयर साम्पाङको कार्यको प्रशंसा गर्दै बधाई दिनु भयो। मेयर साम्पाङ्ले आतिथ्य सत्कारका लागि धन्यवाद व्यक्त गर्दै कला र संस्कृति आदान प्रदान गर्न धरान नगर र मेडवे नगरबीच मितेरी साइनो गाँस्न पहल गर्ने बताउनु भयो।
सो अवसरमा उहाँले सहयोग दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रमाण-पत्र प्रदान गर्नु भएको थियो। मेडवे काउन्सिलका तर्फबाट काउन्सिलको लोगो अंकित मायाको चिनो प्रदान गरियो, भने मेयर साम्पाङ्ले पनि मेडवेका मेयरलाई मायाको चिनो प्रदान गर्नुभयो।
जनसहयोगको अभियान
मेयर साम्पाङको भ्रमणको उद्देश्य धरानको खानेपानी परियोजना र विकासका लागि सहयोग पुर्याउने युकेबासी नेपालीहरुलाई धन्यवाद दिनु, बेलायतको प्रशासनिक र विकास प्रक्रिया बुझ्नु, साथै सुम्निमा पारुहाङ प्रतिमा पार्क निर्माणका लागि सहयोग जुटाउनु थियो।
भ्रमणको व्यवस्थापन धरान समाज युकेले गरेको हो।
मेयर हर्क साम्पाङको यूके भ्रमण विशेष रूपमा जनसहभागिता र सहयोग संकलनमा सफल रह्यो। नेपाली समुदायले उहाँप्रति ठूलो सम्मान र सद्भाव देखाए, जसले मेयर साम्पाङको लोकप्रियता र चर्चालाई अझ वृद्धि गरेको छ।
भ्रमणका क्रममा उहाँका पोस्ट र भिडियोहरूले सामाजिक सञ्जालमा करोडौं पटक प्रतिकृया पाए लाखौंले हेरे र सयौंले सेयर गरेका छन्।
उहाँको अंग्रेजी भाषाको सम्बोधन व्यापक रूपमा चर्चित बन्यो। नेपाली नेताहरूको अंग्रेजी बोलाइको कमजोरीमाथि प्रायः चर्चा भइरहँदा, मेयर साम्पाङको स्पष्ट र प्रभावकारी सम्बोधनले धेरैलाई प्रभावित बनायो।
धुस्रै र फ़ुस्रै श्रमदानमा देखिने मेयरको प्रभावकारी अंग्रेजी भाषाको भाषण हेरेर धेरैको उहाँ प्रतिको हेराई र सोंचाईमा पनि ब्यापक परिबर्तन आएको देखिन्छ । राष्ट्रिय मिडियामा भन्दा सामाजिक संजालबाट समर्थकहरु माझ सिधा कुरा राख्ने मेयरको सक्रियता पनि उस्तै आक्रामक रहने गरेको छ ।
नेपालबाट ल्याएको कालो जुत्ता मात्रै संधै लाएको देखेर दाजुले ६० पाउण्डको नयाँ जुत्ता किनिदिएको प्रसँगलाई १३ लाखको जुत्ता भन्दै गरिएको पोस्टको जवाफमा उहाँले थप चर्चा पाउनुभयो।
आफ्नो आत्मासम्मानमा चोट पुर्याउने चेष्टा नगर्न उहाँको चेतावनी थियो । त्यस्तो भ्रामक पोस्ट गर्ने मान्छेलाई एयरपोर्टमा आएर मैले भ्रम छरेको हो भनेर भनेमा त्यो जुत्ता उसैलाई दिन्छु भन्ने उहाँको भनाई थियो।
कति उठ्यो सहयोग रकम?
धरान समाजको मातहत संकलित हिसाबले नेपाली रुपियाँ दुई करोड छप्पन्न लाख छयालीस हजार एक सय बढी रकम उठेको जानकारी गराइयो। धरान समाजका महासचिव डा. महा राईले हिसाब प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा धरान समाज युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भाष्कर राईले आगामी डिसेम्बरको अन्त सम्ममा कबुल गरेको सहयोग उपलब्ध गराई दिन आग्रह गर्नु भयो।
सहयोग हस्तान्तरण गर्न आफै नेपाल गएर पत्रकार सम्मेलन गरेर हस्तान्तर गर्ने जानकारी पनि उहाँले गराउनु भयो ।
सहयोग संकलनमा संलग्न समूहहरूको विवरण र सहयोग प्रतिबद्धताको चेकहरूको आधारमा प्रारम्भिक अनुमान अनुसार, सहयोग रकम ५ करोड माथि पुग्ने सम्भावना छ।
ग्रेज थोरोक नेपाली समाज, सुम्निमा पारुहाङ निर्माण समिति युके र किरात राई यायोख्खा युकेको नेतृत्वमा संकलन भइरहेको सहयोगको विवरण आउन बाँकी छ।
तमुधि युकेले २ लाख २२ हजार सहयोग जुटाएको छ र अन्य संघ संस्थाहरूको सहयोग पनि सुम्निमा पारुहाङ पार्कको खातामा पुगेपछि मात्र पूर्ण विवरण आउनेछ।
भ्रमणको अन्य कार्यक्रमहरू
मेयर साम्पाङले युके भ्रमणका क्रममा विभिन्न च्यारिटी कार्यक्रमहरूमा सहभागी हुँदै कृतज्ञता प्रकट गर्नुभयो। केन्ट काउन्सिल, फोल्कस्टोन, र हाइथका मेयरहरूसँग भेटघाट गर्नुका साथै केन्ट काउन्टी काउन्सिलका प्रेसिडेन्टसँग छलफल गर्नुभयो। उहाँले प्राइमरी स्कूलको भ्रमण गर्दै त्यहाँको शिक्षा प्रणालीबारे जानकारी लिनुभयो। पारिवारिक समयका क्रममा विन्ड्सर क्यासल र लन्डन घुम्नुभएको थियो। नेपाल रनको १० के रनमा प्रमुख अतिथि बन्नुका साथै उहाँले बिभिन्न गोर्खाली पल्टनहरू, ऐतिहासिक चाथाम डकयार्ड, संसद भवन, स्टोनहेन्ज, र गोर्खा वेलफेयर ट्रस्टको पनि अवलोकन भ्रमण गर्नुभयो।
भ्रमणको अन्तिम दिन, १ नोभेम्बरमा, उहाँले किरात राईहरूको सामुहिक माङ्खिम स्थल किरात राई हाउस ग्याम्बल्स लेन पुगेर तिन्चुला दर्शनसहित उहाँको स्वागत सम्मानमा आयोजित कार्यक्रममा सहभागी भएर युकेका राईहरुको सामुहिक संस्थाको औपचारीक कार्यक्रमा उहाँलाई गरिएको सम्मान र आर्थिक सहयोगको कार्यक्रममा सहभागी हुनु भयो, सो अवसरमा बोल्दै, सुम्निमा पारुहाङ् प्रतिमा पार्क निर्माण पूरा नहुन्जे सहयोग संकलन जारि हुने भएकाले कोहि पनि सहयोग गर्न नछुटोस भन्ने आफ्नो चाहना रहेको बताउँदै सबैलाई सकेको सहयोग गरेर पुण्यको कार्यमा सहभागी हुन अनुरोध गर्नु भयो ।
यहीं कार्यक्रम सम्भवत उहाँको भ्रमणको अन्तिम औपचारिक कार्यक्रम बनेको छ।
मेयर साम्पाङ नोभेम्बर २ तारिख साँझ ८ बजे हिथ्रो विमानस्थलबाट परिवार सहित स्वदेश फर्किनु हुनेछ ।
- भूमिराज राई
मेडवे, केन्ट, युके