धरानमा छठ पर्वको तयारि पुरा

समाचारदाता : गोपाल पौडेल

सुनसरी, कार्तिक २० गते ।

धराने मिडिया : नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै धरान लगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।

विगतमा मधेसमा मात्र हुने छठ पर्व पछिल्लो समय विभिन्न समुदाय र पहाडी क्षेत्रमा पनि त्यत्तिकै हर्सौल्लासका साथ मनाउन थालिएको हो ।

धरानमा पनि विभिन्न स्थानमा छठ पर्व मनाउनका लागि तयारि पुरा भएको यस पर्वको मुख्य आयोजकले जानकारी दिएको छ। धरान-१५ को सेउति खोला र धरान-१३ को सर्दु खोलामा विषेश गरि यस पर्व मनाउनेहरुको भिड देख्ने गरिन्छ।

chhat (3)

फोटो : बब्लु शाह

पूर्वका धरान, विराटनगर, इटहरी, दमक, इनरुवा, बिर्तामोड लगायत सहरका नदी तथा तलाउमा श्रद्धालु भक्तजनको भिड नै लाग्ने गरेको छ ।

छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

chhat

फोटो : बब्लु शाह

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।

chhat (2)फोटो : बब्लु शाह