धरानमा मङ्सिर १८ गते राष्ट्रिय सिनि अवार्ड हुने
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक २४ गते ।
धराने मिडिया : याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा धरानमा पहिलो पटक राष्ट्रिय स्तरको याक्थुङ सिनि अवार्ड हुने भएको छ।
कार्तिक २४ गते संघले धरान-१५ स्थित होटल धरान किचेनमा पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम बारे जानकारी दिएको थियो।
मङ्सिर १८ हुने भनिएको उक्त अवार्ड कार्यक्रममा याक्थुङ कला, भाषा र सांस्कृतिक सम्बन्धित निर्माण भएको चलचित्रले भाग लिन पाउने संस्थाका अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी दिएका थिए। उनले यस अवार्ड कार्यक्रम मार्फत याक्थुङ चलचित्रलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग पुग्ने बताएका थिए।
धरान-१८ स्थित वि.पि कोइराला स्वस्थ्य विज्ञान प्रतिस्ठानको सभा हलमा हुनगएको उक्त अवार्ड कार्यक्रममा चर्चित सिनेमा नुमाफुङका लेखक निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, लेखक तथा निर्देशक सुरज सुब्बा, कलाकार प्रेम सुब्बा र किशोर सुब्बाको उपस्थिति रहने बताइएको छ।
याक्थुङ चलचित्रकर्मीहरु संगठित हुने उद्देश्यले वि.स. २०७८ सालमा कलाकार तथा चलचित्र निर्माता नवीन सुब्बा(मेन्याङ्वो)को अध्यक्षतामा स्थापना भएको २१ सदस्यीय तदर्थ समिती याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितिको स्थापना भएको थियो।
यस सिनि अवार्डमा सहभागीका नियमहरु यस प्रकार छन:
१. मिति २०८१ मङ्सिर ५ गतेसम्म फाराम र चलचित्र बुझाउनु पर्नेछ।
२. फिचर फिल्मको हकमा फाराम सहित दर्ता शुल्क रु. १०००/- (एक हजार), लघु चलचित्रको हकमा फाराम सहित रु. ५००/- (पाँच सय) बुझाउनु पर्नेछ।
३.कार्यक्रम मिति २०८१ मङ्सिर १८ गते धरान, सुनसरीमा हुनेछ।
४. अवार्ड नीति नियम आयोजकले निर्धारण गरे बमोजिम हुनेछ।
५. निर्णायक मण्डलले गरेको निर्णय अन्तिम नै निर्णय मान्य हुनेछ।
६. फिचर फिल्मको हकमा चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको हुनुपर्नेछ।
७. फिचर फिल्म वा लघु चलचित्र याक्थुङ लिम्बू सांस्कृतिक अथवा भाषिक हुनुपर्नेछ।
८. २०७९/०८०/०८१ सामभित्र बनेका चलचित्र मात्र समावेश गरिनेछ।