धरानका युवा सहित प्रतिबन्धित लागुऔषधमा ८ जना प्रहरीको नियन्त्रणमा
समाचारदाता : गोपाल पौडेल
विराटनगर, मंसिर १६ गते ।
धराने मिडिया : झापा, मोरङ, सुनसरी र तेह्रथुम जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंसिर १५ गते साँझ झापा मेचिनगर नगरपालिका-१० स्थित आफ्नै घरबाट लागुऔषध बिक्रिबितरण गर्ने ३१ बर्षीय मनु मुर्मुलाई १ ग्राम १५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० का २७ बर्षीय टाईसन राईलाई १ सय ७७ चक्की र शनिश्चरे-४ का ३५ बर्षीय लक्ष्मण गौतमलाई ६ सय १६ चक्की सहित नियन्त्रणमा लिएको हो।
यस्तै धरान उप-महानगरपालिका-१९ का २५ बर्षीय अर्जुन बराईली, १८ बर्षीय निशान लिम्बु, २४ बर्षीय सुजन लिम्बू र ३१ बर्षीय सुमन राईलाई वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले २ सय २८ क्याप्सुल र १७ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४३ प ६८७१ नम्बरको मोटरसाईकलबाट बेबारीसे अवस्थामा बोरामा राखिएको लागु औषध ट्रामाडोल २३ हजार ५ सय ट्याब्लेट फेला पारेको हो।
यसैगरी प्रहरी चौकी जिरिखिम्ती तेह्रथुमबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले म्याङ्लुङ नगरपालिका-९ का २५ बर्षीय सम्भु लिम्बुलाई लागु औषध ८० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर