झापा र सुनसरीमा लागुऔषध सहित ८ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
विराटनगर, पुस ०८ गते ।
धराने मिडिया : झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुस ०६ गते बेलुका झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ४१ बर्षीय रुपेश पाख्रिनले लागुऔषध बिक्रीबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको ब्राउन सुगर २ ग्राम फेला पारी रुपेश पाख्रिन र बेचबिखनमा संलग्न ३२ बर्षीय डिक बहादुर मगर समेतलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २४ बर्षीय रोदन लिम्बुलाई १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ट्रामाडोल- ८३ क्याप्सुल र स्पासपेन-२८ ट्याब्लेट सहित दमक-७ का २० बर्षीय नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई पक्राउ गरेको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाँउपालिका-३ का ६० बर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई गाँजा ४ किलोग्राम, नेपाली नगद ३ लाख ९ हजार ६४६ रुपैँया सहित नियन्त्रणमा लिएको छ।
त्यस्तै गरी सुनसरीको देवानगंज गाउँपालिका-७ स्थित भित्री सडकमा इलाका प्रहरी कार्यालय हरिनगराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले BR 80 AB 7438 नम्बरको मोटरसाईकल चालक देवानगंग-२ का २४ बर्षीय अवास अंसारी र पछाडि सवार २६ बर्षीय रिजुवान अंसारीलाई ३८ किलोग्राम ५२० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर