१२४ औं धरान उत्सव पौष २० गते

समाचारदाता : गोपाल पौडेल

२०८१ पौष ०९ गते।

धराने मिडिया : आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान उत्सव हुने भएको छ।

हालको आधुनिक धरान सहर रहेको स्थानमा पहिले घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरूले तयार गर्ने गरेको धरान (धराप)बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ। धरान नेपाल को कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा पर्ने एक उपमहानगरपालिका हो।

विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ।

धरान उत्सवको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्कराज राई संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।

नेपाल सरकारको मन्त्री परिषदले २०७१ वैशाख २५ गते धरान नगर पालिकामा पञ्चकन्यालाई समावेश गरेको एवं २०७१, मंगसीर १६ गते ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरिएको हो। धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा विष्णुपादुका गाविसलाई समावेश गरिएको छ।

धरान उत्सव धरान १६ स्थित रंगशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ ।

गोर्खाली राजा पृथ्वीनारायण शाहले एकिकरण गर्ने क्रममा नेपाल अधिराज्यमा गाभिनु भन्दा अगाडि धरान लिम्बुवान (पल्लो किरात) राज्यमा पर्दथियो। बुद्धिकर्ण राय खेवाङ लिम्बुवान का अन्तिम लिम्बु राय /राजा हुन। वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं १९९० को भुइँचालामा धरान ध्वस्त भएकाले जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँ बजार) बसालेको इतिहासमा पाइन्छ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ। नेपाल गजेट (मार्ग ६ गते २०१६) मा धरान नगरपालिका घोषित भएको भनिएको छ। वि.सं. २०१७ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) हुनुहुन्थ्यो। वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो।

सुरूमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो र हालमा २७ वडासम्म कायम रहेकोमा हाल २७ वडालाई समायोजन गरेर २० वटा वडा बनाईएको छ।